२००६ साल वैशाख १० गते कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी अनेक आरोह–अवरोह, विभाजन, एकीकरण, पुनः विभाजन र फेरी एकीकरणका शीलशीला बेहोर्दै अगाडि बढिरहेको छ । श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारीका रुपमा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० गठन भएको हो ।
पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका विकृती र विसंगतिहरुको अन्त्य गर्दै कम्युनिष्ट आचरणयुक्त, विकासशील र जनसेवी पार्टी निर्माण गर्नु ऐतिहासिक आवश्यकता थियो । अग्रजहरूले प्रस्तुत गर्नुभएका क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अबसरवादको भासमा डुब्न र विसर्जन हुनबाट जोगाउन विद्रोह गरिएको कुरा जगजाहेर नै छ । कम्युनिष्ट आन्दोलनलाई केपी ओलीले दक्षिणपन्थी अवसरवादको दिशामा धकेलेकाले त्यसबाट आन्दोलनलाई बचाउन हामीले विद्रोह गरेका हौं ।
कस्तो विचारले पार्टी सञ्चालन गर्ने रु कस्ता सिद्धान्त र आदर्शलाई अंगिकार गर्ने रु भन्ने कुरा पार्टी निमार्णमा महत्वपुर्ण पक्ष हो । नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त भनेको मार्क्सवाद लेनिनवाद नै हो । जसलाई हामीले आफ्नो मार्गदर्शक सिद्धान्त मानेका छौं । अहिले नेपाली समाज पुँजीवादी उत्पादन पद्धतिमा प्रवेश गरिसकेकोले पार्टीको मुख्य कार्यभार नेपाली विशेषताको समाजवाद निर्माण गर्नु हो । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने अक्षर र भावनालाई मूर्त रुप दिन दलाल पुँजीवादलाई परास्त गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउँदै समाजवाद निर्माणका लागि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक कार्यदिशा तयार गर्नु आजको कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभार हो ।
जनतालाई संगठित गर्न, आन्दोलित गर्न र निर्माणमा समर्पित गर्न निश्चित सिद्धान्त र विचारधाराको आवश्यकता त हुन्छ नै, साथै हाम्रो आचरण र व्यवहार पनि महत्वपुर्ण पक्ष हो । हाम्रा सबै तहका नेता–कार्यकर्ता आफू बसेको समाजका लागि आदर्श बन्नै पर्दछ । हामीले एकातिर समाजलाई अग्रगतिमा लैजान संघर्ष गर्नु पर्दछ भने समाजमा अपाच्य हुने गैर कम्युनिस्ट आचरण र चालचलनबाट जोगिनु पर्दछ । विचार, सिद्धान्तमा पोख्त र निजी तथा सामाजिक आचरणमा सरल, पारदर्शी र स्वच्छ व्यक्तिले मात्रै समाज परिवर्तनको काममा अगुवाई गर्न सक्दछ । मलाई विश्वास छ, हाम्रा हरेक नेता–कार्यकर्ताहरुले यस पक्षलाई सदैव ध्यानमा राख्नु हुनेछ ।
समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै हामीले सफलता प्राप्त गर्नेछौं । आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक(आर्थिक(सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन विभिन्न तह र तप्काका सर्वहारा–श्रमजीवी जनताका साथै गरीब किसानदेखि धनी किसानसम्म, शहरिया गरीबदेखि राष्ट्रिय पूँजीपति–उद्यमीसम्म सबैको साथ–सहयोगको लागि पनि अपील गर्दछु । धन्यवाद ।
माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)